काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले ३३ औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजीको त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा एपीएफले लाङ्दीदेवी युवा क्लब नाल्मालाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पारेको हो।
एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले एक–एक गोल गरे। खेलको ७६ औँ मिनेटमा युवराज खड्काले अग्रता दिलाउने गोल गरेका थिए भने ८३ औँ मिनेटमा प्रदीप लामाले दोस्रो गोल गर्दै एपीएफको जित सुनिश्चित गरे।
उपाधिसँगै एपीएफले १२ लाख रुपैयाँ नगद पुरस्कार, त्रिवेणी कप र स्वर्णपदक प्राप्त गरेको छ। उपविजेता बनेको लाङ्दीदेवी युवा क्लब नाल्माले ६ लाख रुपैयाँ नगद पुरस्कारसहित रजतपदकमा चित्त बुझाएको छ।
फाइनल खेलमा एपीएफका युवराज खड्का ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। प्रतियोगितामा एपीएफका समिर थोकर र प्रदीप लामाले समान ३–३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जिते। दुवै खेलाडीलाई ट्रफीसहित जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै, प्रतियोगिताको अन्तिम गोलकर्ता एपीएफका प्रदीप लामालाई आयोजक त्रिवेणी युवा क्लबका पूर्व खेलाडी रामकुमार गुरुङले ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे। उहाँले प्रतियोगिताको पहिलो खेलमा पहिलो गोल गर्ने खेलाडीलाई पनि ५ हजार रुपैयाँ नगद पुरस्कार दिनुभएको थियो। एपीएफकै सन्तोष खत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए भने एञ्जल श्रेष्ठ सर्वोउत्कृष्ट गोलकिपर बने। दुवैलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्रदान गरिएको छ।

