लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–९, हिले गाउँमा बसोबास गर्दै आएका ४१ वर्षीय निलबहादुर तामाङ वैदेशिक रोजगारीका लागि टर्की जाने तयारीका क्रममा दुई महिनादेखि सम्पर्कविहीन भएका छन्। स्थानीयका अनुसार तामाङ गाउँकै चिनजानका व्यक्ति श्रीप्रसाद गुरुङको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाएका थिए।
काठमाडौंबाट आवश्यक प्रक्रिया पूरा भएपछि म्यानपावर कम्पनीले भिजा सहजीकरण (भीएफएस) का लागि भारतको नयाँ दिल्ली पठाएको बताइएको छ।
कात्तिक १७ गते बिहान ११ जनाको समूह नयाँ दिल्ली पुगेको थियो। सो समूहले जनही २१ हजार भारतीय रुपैयाँ तिरेर भीएफएस प्रक्रिया पूरा गरी नेपाल फर्किएको भए पनि तामाङ भने फर्किएनन्।
निलबहादुरकी श्रीमती मैतीमाया तामाङका अनुसार दिल्ली गएर थप पैसा बुझाउनुपर्छ भन्दै एजेन्टले बोलाएको जानकारी आएको थियो। उनका अनुसार निलबहादुर कात्तिक १४ गते घरबाट निस्किएका थिए र कात्तिक १५ गते बेलुकी रक्सौल पुगेको भनेर अन्तिम पटक फोन आएको थियो। त्यसपछि हालसम्म करिब दुई महिना बितिसक्दा पनि उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ।
घरमा बुढाबुढी आमाबुबा छोरा फर्कने आशामा बाटो हेरेर बसेका छन् भने परिवारजन गहिरो चिन्तामा परेका छन्।
परिवारले निलबहादुर तामाङको बारेमा कसैलाई कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरेको छ।

