काठमाडौं । तनहुँको आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा पुरिएको अवस्थामा फेला परेको बसको अवशेष उत्खनन गर्ने काम सोमबार पनि निरन्तर रहने भएको छ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अगाडिको भाग आइतबार बिहान करिब १०:३० बजे नदी किनारमा देखिएको थियो। प्रारम्भिक अनुमानअनुसार उक्त बस काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ रहेको प्रहरीले जनाएको छ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुँखैरेनी र साराङघाटबाट खटिएको प्रहरी टोलीले आइतबार दिनभर उत्खनन कार्य गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार पनि उत्खनन तथा अनुसन्धान कार्यलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
प्रनाउ विकका अनुसार हालसम्म बसको अगाडिको भाग मात्र देखिएको छ र अवशेषको पूर्ण पहिचान हुन बाँकी छ। “उत्खनन र अनुसन्धान दुवै काम सँगसँगै अघि बढाइरहेका छौँ,” उनले भने।

