लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चे स्थित ऐतिहासिक तथा साहसिक सम्भावना बोकेको तारे भीरमा रक क्लाइम्बिङका थप रुट खोज्ने कार्य औपचारिक रूपमा सुरु भएको छ। प्राकृतिक बनावट, चुनौतीपूर्ण चट्टान र मनोरम दृश्यले भरिएको तारे भीरलाई रक क्लाइम्बिङको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यो अभियान अघि बढाइएको हो।
मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तारे भीरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनिने साहसिक खेल पर्यटनको गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार यस क्षेत्रको समुचित प्रवर्द्धन गर्न सके युवा रोजगारी सिर्जना, स्थानीय आयआर्जन तथा पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्नेछ।
रक क्लाइम्बिङ रुट पहिचान अभियानका क्रममा सोमबार स्थानीय आमा समूह तथा स्थानीयवासीहरूले पाँच सदस्यीय प्राविधिक टोलीलाई लालुपाते फूल, टीका र शुभेच्छासहित स्वागत तथा सफलताको कामना गरेका छन्। स्थानीयको सक्रिय सहभागिता र समर्थनले अभियानलाई थप ऊर्जा र उत्साह दिएको जनाइएको छ।
तारे भीरलाई आगामी दिनमा रक क्लाइम्बिङ, साहसिक पर्यटन, तालिम केन्द्र तथा प्रतियोगिता आयोजनासम्म विस्तार गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ। यसले मर्स्याङ्दी गाउँपालिकालाई साहसिक पर्यटनको नक्सामा मजबुत रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

