काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रक्रिया आज उम्मेदवार मनोनयन दर्तासँगै सुरु भएको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज बिहानदेखि जिल्ला निर्वाचन कार्यालयमार्फत मनोनयन दर्ता भइरहेको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ। उम्मेदवारहरूले सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुगेर आयोगले तोकेको स्थानमै मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचनलाई शान्त, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यले आयोगले मनोनयन दर्ताका क्रममा कुनै पनि तडकभडक, जुलुस वा प्रदर्शन नगर्न कडा निर्देशन दिएको छ। सबै राजनीतिक दल र उम्मेदवारलाई अनुशासनमा रहेर प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
भीडभाड नियन्त्रण गर्न र दर्ता प्रक्रिया सहज बनाउन आयोगले प्रमुख दल र उम्मेदवारका लागि मनोनयन दर्ताको समयसमेत छुट्टाछुट्टै निर्धारण गरेको छ। समयको पालना नगरे अव्यवस्था निम्तिन सक्ने भन्दै आयोग सतर्क देखिएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने व्यवस्था छ।
राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै क्षेत्रका उम्मेदवार तय गरिसकेको जनाएको छ भने नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा अन्तिम निर्णय गर्न बाँकी रहेको बताएको छ।
नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन्। बाँकी दलहरूले पनि आज बिहानसम्म उम्मेदवार छनोट प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ।
उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। साथै सम्बन्धित स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ। आवश्यक कागजात पूरा नगरे उम्मेदवारी अस्वीकृत हुन सक्ने चेतावनी आयोगले दिएको छ।

