काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधारेर हरेक नागरिकलाई समेट्ने बाचा गरेका छन् । स्वास्थ्यमन्त्री हुँदा नेपालमा सरकारी तवरबाटै स्वास्थ्य बीमाको सुरुवात गरेका थापाले आइतबार एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले यो कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा समेत गरेका छन् ।
पछिल्लो समय सरकारले रकम भुक्तानी नगर्दा बन्द हुने अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई आफूहरू सरकारमा आएपछि थप समृद्ध बनाएर लैजाने उनको प्रतिबद्धता थियो । उनले पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुन नहुने बताएका छन्
‘पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो,’ उनले भनेका छन् । बीमाको चुहावट सुधार गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि बीमा बोर्डलाई बलियो बनाउनुपर्ने थापाले उल्लेख गरेका छन् ।

