काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि दुईपटकको विश्वकप विजेता इंग्ल्यान्डसँग पहिलो खेलमै ४ रनको साँघुरो हार बेहोरेको छ।
आइतबार भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहे पनि नेपालले ५ रन मात्र जोड्न सफल भयो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४४ रनको उत्कृष्ट इनिङ खेले। यस्तै, लोकेश बमले अविजित ३९ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ३९, कुशल भुर्तेलले २९ र आरिफ शेखले १० रनको योगदान दिए।
इंग्ल्यान्डका बलर लियम डवसनले २ विकेट लिए भने लुक उड, विल ज्याक्स, जोफ्रा आर्चर र साम करनले समान १–१ विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकोब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे। यस्तै, विल ज्याक्स अविजित ३९ र जोस बटलरले २६ रन बनाए।
नेपालका बलरमध्ये दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिँदा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिए।
हारका बाबजुद विश्व क्रिकेटको बलियो टोलीविरुद्ध नेपालले देखाएको आत्मविश्वासी प्रदर्शनले समर्थकहरूलाई उत्साहित बनाएको छ।

