बुटवल । जारी आसन्न चुनावी माहोलका बीच रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मेकानिकल हाइड्रो इन्जिनियर सुरज पाण्डेको सम्भावना बढ्दै गएको दाबी गरिएको छ। आर्थिक एजेन्डालाई मुख्य चुनावी नारा बनाएर घरदैलो अभियानमा निस्किएका पाण्डेले स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन्। आफ्ना प्रमुख ८ वटा आर्थिक एजेन्डासहित अहिले उनी विभिन्न टोलबस्तीमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
दिपनगर बस्तीमा उनको विशेष प्रभाव देखिएको र चिडियाखोला तथा गोलपार्क क्षेत्रमा घरदैलो गर्दा स्थानीयवासीको उत्साहजनक समर्थन प्राप्त भएको उनका सहयोगीहरू बताउँछन्। बुटवलको पुरानो व्यापारिक परिचित परिवारबाट आएका कारण पनि उनलाई स्थानीयसँग घुलमिल हुन सहज भएको बताइन्छ। स्थानीय स्रोतका अनुसार मतदातामा यसअघिका पटक–पटक निर्वाचित प्रतिनिधिहरूले आर्थिक विकासमा अपेक्षित काम नगरी व्यक्तिगत राजनीतिक उन्नतिमै केन्द्रित भएको भन्ने असन्तुष्टि देखिएको छ।
पाण्डेले घरदैलो, सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाटमार्फत चुनावी माहोल विस्तार गर्दै लगेका छन्। उनलाई सहयोग गरिरहेका किरण बिकका अनुसार “यहाँ चुनावी अभियान जिततर्फ उन्मुख देखिन्छ, मतदाताको प्रतिक्रिया हाम्रो पक्षमा छ।” बिकले अरू उम्मेदवारले सहजै जित्छन् भन्ने कुरा “हल्ला जस्तो मात्र” मतदाताबाट सुनिएको पनि बताए।
घरदैलोका क्रममा कतिपय मतदाताले कुलमान घिसिङलाई सम्मान गर्नकै लागि पनि ‘बलिरहेको चिम’ चिन्हमा मत हाल्ने बताएका छन्। “पहिले लोडसेडिङ हटायौं, अब कर घटाउने लक्ष्य छ,” भन्दै पाण्डेको टोलीले आर्थिक सुधारका प्रतिबद्धता दोहोर्याउँदै आएको छ। पाण्डे यसअघि विद्युत् आपूर्ति सुधार तथा लोडसेडिङ अन्त्य अभियानसँग सम्बन्धित प्राविधिक टोलीमा समेत आबद्ध रहेको बताइएको छ।
यता रुपन्देही–२ का मतदाताहरूले हल्ला, पार्टी र प्रचारभन्दा पनि प्रत्येक उम्मेदवारलाई व्यक्तिगत रूपमा बुझ्न चाहेको प्रतिक्रिया दिइरहेका छन्। घरदैलोका क्रममा धेरै मतदाताले प्रत्यक्ष भेटेर योजनाबारे स्पष्ट धारणा माग्ने गरेको पाण्डे पक्षको भनाइ छ।
रुपन्देही–२ मा नेकपा एमालेका तर्फबाट उपप्रधानमन्त्री विष्णु पौडेल र नेपाली कांग्रेसका उम्मेदवार चुन्नु पौडेल चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन क्षेत्र प्रतिस्पर्धात्मक बन्दै जाँदा नयाँ आर्थिक एजेन्डा लिएर मैदानमा उत्रिएका पाण्डेले पारम्परिक दलहरूलाई चुनौती दिने संकेत देखिएको छ।

