काठमाडौं । काठमाडौंको नक्साल मालिगाउँस्थित काठमाडौं इङलिस स्कुलमा माघ २५ गतेदेखि सञ्चालन गरेको वार्षिक खेलकुद सप्ताहको पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । पाँच दिनसम्म चलेको उक्त खेलकुद सप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
खेलकुद सप्ताह अन्तर्गत फुटबल, डोरी तान,दौड, बास्केटबल, लङ्जम्प, हाईजम्प लगायत दर्जनौँ खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा विद्यालयका अध्यक्ष इश्वर पुडासैनी, प्रधानाध्यापक दिनेश खतिवडा, सल्लाहकार प्रल्हाद दाहाल, एकाडेमिक हेड मेघराज बजगाईं, सहायक प्र.अ.प्रविन भण्डारी तथा शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी एवं अभिभावकहरूको समेत सहभागिता देखिएको थियो ।
प्रधानाध्यापक दिनेश खतिवडाले विद्यालयले प्रत्येक वर्ष यस्ता अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै खेलकुदले विद्यार्थीहरूको शारीरिक स्फूर्ति मात्र नभइ मानसिक सन्तुलन, नेतृत्व क्षमता र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालयले आन्तरिक प्रतिस्पर्धासँगै बाह्य प्रतियोगिताहरूमा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको र विभिन्न प्रतियोगितामा सफलता हासिल गरेको निर्देशक मेघराज बजगाईंले जानकारी दिए ।
सल्लाहकार प्रल्हाद दाहालले बालबालिकाको चौतर्फी विकासलाई प्राथमिकतामा राखेर विद्यालय अघि बढिरहेको उल्लेख गर्दै उपत्यकामा उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल भएको धारणा राखे । विद्यालयले शिक्षा र शैक्षिक गतिविधिमार्फत स्थानीय समुदायमा सकारात्मक प्रभाव छोडेको उनको भनाइ थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष ईश्वर पुडासैनीले विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । साथै खेलकुद सप्ताह सफल बनाउन सहयोग गर्ने शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समयसापेक्ष, गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न विद्यालय सधैं प्रतिबद्ध रहने प्रतिबद्धता जनाए ।

