काठमाडौं । टी–२० विश्वकपमा तेस्रो पटक सहभागिता जनाउँदासम्म नेपालले १२ वर्षपछि जित निकालेको छ । १२ वर्षअघि सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङहङलाई हराएको नेपालले त्यसयता सहभागिता जनाएका विश्वकपमा जित निकाल्न सकेको थिएन ।
मंगलबार तेस्रोपटकको विश्वकप सहभागितामा स्कटल्यान्डविरुद्ध सात विकेटको फराकिलो जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो । आक्रामक सुरुवात पाएको नेपालले मध्यक्रममा धर्मराएको थियो । ओपनर कुशल भुर्तेल र आशिफ शेख आउट भएपछि नेपाल केही धर्मराएको थियो । तर दीपेन्द्र सिंह ऐरी र गुल्शन झाको आक्रामक साझेदारीले ४ बल बाँकी छँदै नेपाललाई सात विकेटको जित दिलायो ।
नेपालको जितसँगै उपकप्तान दीपेद्रको जारी विश्वकपमा दोस्रो अर्धशतकसमेत बन्यो । उनले २१७ को स्ट्राइक रेटमा मात्र २३ बलमा चार चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । ऐरी ५० रनमा अविजित रहे भने गुलशन झा पनि १७ बलमा २ छक्का र एक चौकासहित २४ रनमा अविजित रहे । कुशल भुर्तेलले ३५ बलमा चार छक्का र एक चौका प्रहार गर्दै ४३ रनको योगदान दिए भने आशिफ शेखले २७ बलमा २ छक्काको सहयोगमा ३३ रन जोडे । कप्तान रोहित पौडेलले पनि १६ रनको योगदान दिए ।
यता बलिङमा स्कटल्यान्डका माइकल लिस्कले ३ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनाएको थियो । उसका लागि मिचेल जोन्सले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । युस्तै जर्ज मुन्सीले २७, ब्रान्डन म्याकमुलेनले २५ रन बनाउँदा रिची ब्यारिन्टनले १० र मार्क वाटले पनि १० रन जोडे ।
बलिङमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १/१ विकेट लिए । जारी विश्वकपमा नेपालको यो अन्तिम खेल हो । पहिलो खेलमा इंग्ल्यान्डसँग मात्र ४ रनले हारेको नेपाल, दोस्रो खेलमा इटालीसँग १० विकेट र तेस्रो खेलमा वेस्टइन्डिजसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपाल रहेको समूहबाट वेस्टइन्डिज र इंग्ल्यान्ड सुपर ८ मा पुगेका छन् । स्कटल्यान्ड, इटाली र नेपाल समान एक/एक जित सहित घर फर्किने छन् ।

