काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन्।
गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गरे।
‘निर्वाचनको विकल्प निर्वाचन नै हो,’ भण्डारीले भने, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्,तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ।’
मतदान हुनुअघि गरिने मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराई निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले ‘मत सर्वेक्षण’ नगर्न उनले मिडियालाई आग्रह गरे।
‘संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन,’ भण्डारीले भने, ‘मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम छर्न सक्छ, जुन समुच्च निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ।’

