काठमाडौं । मन्त्रिपरिषद्को यही फागुन १२ गते बसेको बैठकले सोह्रौँ योजना कार्यान्वयन स्वीकृतिदेखि नेपाली सेनानीलाई महासेनानीमा बढुवालगायत विभिन्न २५ निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले मन्त्रिपरिषद्को बैठकको निर्णय आज सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।
निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय पनि गरिएको छ ।
बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२-२०८५/८६) स्वीकृत गरेको छ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत केरावारी-न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने पनि निर्णय गरिएको छ ।

