काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतदानमा उत्साहजनक सहभागिता देखिएको छ । मतदान शुरू भएको करिब दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका मतदानस्थलहरूमा बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको हो । बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको भन्दै मतदान केन्द्रहरूमा मतदाताको बाक्लो लाइन देखिएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि मतदान बिहान ७ बजेदेखि शुरू भएको हो । देशभर स्थापना गरिएका मतदान केन्द्रहरूमा मतदाताले शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । कतिपय स्थानमा बिहानैदेखि मतदाताको भीड बढेकाले मतदान केन्द्रहरूमा लामो लाइन लागेको देखिएको छ ।

