काठमाडौं । भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनका लागि नेपाल सरकार तथा नेपाली जनतालाई हार्दिक बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मोदीले नेपाली दिदीबहिनी र दाजुभाइले अत्यन्त उत्साह र जीवन्ततासाथ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको देख्दा आफूलाई निकै खुसी लागेको बताएका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको एउटा गौरवपूर्ण र ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरेका छन्।
मोदीले छिमेकी राष्ट्रको हैसियतले भारत सधैं नेपालको विकास, स्थिरता र समृद्धिको पक्षमा रहेको उल्लेख गरेका छन्। उनले एक नजिकको मित्र र छिमेकीका रूपमा भारत नेपालका जनता तथा निर्वाचनपछि बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न सधैं प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
निर्वाचनपछिको नयाँ कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास मोदीले व्यक्त गरेका छन्।
नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेका बेला भारतीय प्रधानमन्त्रीको यो सन्देशलाई कूटनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ। मोदीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको पूर्ण समर्थन रहने र आगामी दिनमा दुई देशबीचको सहकार्य अझै प्रगाढ हुने संकेत दिएका छन्।

