नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक मंगलबार राति साढे एक बजेको समयमा सुनवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको यूपी २१ पीटी २७९१ नम्बरको कन्टेनरले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितले जानकारी दिए ।
सुरुमा कन्टेनरले काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशको ०२-००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो । त्यसपछि सोही बसले क्रमश: बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको कर्णाली प्रदेशको ००२ प ९५७० नम्बरको मोटरसाइकल, काठमाडौंबाट रोल्पा जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बस र भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २४७५ नम्बरको बस समेत ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक कालीकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् ।
त्यसैगरी एउटा बसमा सवार ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनछहरी गाउँपालिका –५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका छन् ।
घाइते भएकाहरुलाई चितवनको भरतपुर र मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका लागि पुर्याइएको छ । दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

