काठमाडौं । आज सबै प्रदेशमा मेघगर्जन, चट्याङ, असिना तथा हुरीसहित पानी पर्ने र कतिपय स्थानमा ठुलो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
त्यसो त अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा सुरु भइसकेको मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोसी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बागमती, मधेसलगायत कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ।
यस्तै दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
यस्तै आज राति पनि कोसी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थान, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ/असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ।
यसैबिच आज साँझपख काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी मौसम महाशाखाले दिएको छ।

