अमेरिका र इरानबीच चर्किएको द्वन्द्वलाई रोक्न अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल तीव्र बन्दै गएको छ। पछिल्लो घटनाक्रममा तीन मुस्लिम देश(टर्की, इजिप्ट र पाकिस्तान) मध्यस्थकर्ताका रूपमा सक्रिय देखिएका छन्।
अमेरिकी सञ्चारमाध्यम ‘Axios’ का अनुसार यी तीन देशका प्रतिनिधिहरूले अमेरिकी पक्षसँगै इरानका उच्च तहका अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटघाट गर्दै द्वन्द्व अन्त्यको सम्भावना खोजिरहेका छन्। उनीहरूले ह्वाइट हाउसका दूत स्टीव विटकॉफसँग छलफल गर्नुका साथै इरानका विदेशमन्त्री अब्बास अराघचीसँग पनि वार्ता गरेका छन्।
यी वार्ताहरूको मुख्य उद्देश्य अमेरिका–इरानबीच जारी सैन्य तनाव अन्त्य गर्नु र बाँकी रहेका विवादित मुद्दाहरू समाधानतर्फ लैजानु रहेको बताइएको छ। इरानले समेत तनाव कम गर्ने उद्देश्यले केही “कूटनीतिक पहल” भइरहेको स्वीकार गरेको छ, तर अमेरिका प्रत्यक्ष रूपमा वार्तामा आउनुपर्ने आफ्नो अडान दोहोर्याएको छ।

