एजेन्सी । अमेरिका–इजरायल र इरानबीच तनाव बढिरहेका बेला इरानको इस्फाहान सहरमा रहेको एक प्रमुख विश्वविद्यालय फेरि हवाई आक्रमणमा परेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार इस्फाहान युनिभर्सिटी अफ टेक्नोलोजीलाई लक्षित गरी दोस्रोपटक हमला गरिएको हो। प्रारम्भिक जानकारीअनुसार विश्वविद्यालयभित्र रहेको अनुसन्धानसम्बन्धी भवनमा आक्रमण हुँदा आसपासका अन्य संरचनामा पनि क्षति पुगेको छ।
घटनामा चार जना कर्मचारी सामान्य घाइते भएका जनाइएको छ।
यसअघि इरानले आफ्ना विश्वविद्यालय र अनुसन्धान केन्द्रमा भइरहेका आक्रमण रोक्न अन्तर्राष्ट्रिय रूपमा ध्यानाकर्षण गराएको थियो। इरानका एक सरकारी प्रवक्ताले हालसम्म विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थाहरू प्रभावित भएको बताएका छन्।

