काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नियमावली मस्यौदा समितिले अधिकांश विषयमा सहमति जुटिसकेको र अब अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ।
समितिका सभापति गणेश पराजुलीका अनुसार समितिलाई दिइएको १४ दिनको समयसीमा मंगलबार सकिँदैछ। उनले सोमबार बस्ने बैठकमा बाँकी विषय टुंगो लगाएर मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको जानकारी दिए।
महाभियोगसम्बन्धी व्यवस्था लगायत केही संवेदनशील विषयमा भने अझै छलफल जारी रहेको समितिले जनाएको छ। यी विषयमा राजनीतिक दलहरूसँग थप परामर्श भइरहेको छ।
सभापति पराजुलीका अनुसार संसदीय अभ्यास, २०१६ सालपछिका अनुभव तथा वर्तमान आवश्यकतालाई समेटेर नियमावली तयार पारिँदैछ। नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभाको सञ्चालन, कानुन निर्माण प्रक्रिया, सांसदहरूको भूमिका र सरकारको जवाफदेहितालाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
समितिले सञ्चारकर्मीलाई संसदीय समितिमा प्रवेशको सुनिश्चितता पनि नियमावलीमा समावेश गरिएको जनाएको छ।
यसअघि समितिले सभामुख तथा पूर्व महासचिवहरूसँग छलफल गरी सुझाव संकलन गरेको थियो। सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफलपछि मस्यौदा तयार गरिएको समितिले जनाएको छ।

