काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई दिइने तलबभत्ता अब महिनामा दुई किस्तामा उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
अर्थ मन्त्रालयले जारी गरेको पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा भुक्तानी गरिने भएको हो। मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।
पत्रअनुसार अर्धमासिक रूपमा तलब वितरण गर्ने निर्णय मन्त्रीस्तरबाट भइसकेको छ। यसअघि सरकारी कर्मचारीहरूले महिनामा एकपटक मात्र तलब पाउँदै आएका थिए।
नयाँ व्यवस्थाअनुसार अब कर्मचारीहरूले महिनामा दुईपटक तलब पाउने भएकाले नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालयले यो प्रणाली लागू भएपछि तलब वितरण थप व्यवस्थित, पारदर्शी र समयमै हुने विश्वास व्यक्त गरेको छ। साथै, सम्बन्धित निकायहरूलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी छिट्टै पूरा गर्न आग्रह गरिएको छ।


