काठमाडौँ । प्रतिनिधिसभामा अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था लागू गर्ने प्रस्ताव अघि सारिएको छ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन आज सभामुख डोलप्रसाद अर्याल समक्ष पेश गर्दै सो व्यवस्था समावेश गरिएको जानकारी दिएको हो।
प्रस्तावित प्रावधान अनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले सोध्ने प्रश्नका लागि प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकमा एक घण्टा समय छुट्याइनेछ। यदि उक्त दिन बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकमा अनिवार्य रूपमा एक घण्टाको समय प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तोकिने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यसैगरी उठाइएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सोही सदनमा तत्काल दिनुपर्ने प्रावधान पनि मस्यौदामा समेटिएको छ। मस्यौदा समितिका अनुसार यो व्यवस्थाको उद्देश्य सरकार प्रमुखलाई संसद्प्रति अझ प्रत्यक्ष र प्रभावकारी रूपमा उत्तरदायी बनाउनु हो। अब उक्त प्रस्तावित नियमावली प्रतिनिधिसभामा छलफलपछि पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।

