काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा पुनः बढाउने विषयमा सरकार पुनः अघि बढेको छ। वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन भएको दुई साताको अवधिमा यातायात व्यवस्था विभागले पुनः भाडा बढाउने प्रस्ताव तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको हो।
गत चैत २५ गते सरकारले वैज्ञानिक प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्म वृद्धि गरेको थियो। त्यस समयमा यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ प्रतिशत तथा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको थियो।
भाडा समायोजनपछि पछिल्लो समय डिजेलको मूल्य दुई पटक गरी प्रति लिटर ५५ रुपैयाँले वृद्धि भएको छ। भाडा समायोजनका बेला डिजेलको मूल्य प्रति लिटर १८२ रुपैयाँ रहेकामा हाल बढेर २३७ रुपैयाँ पुगेको छ।
वैज्ञानिक भाडा समायोजनसम्बन्धी कार्यविधिअनुसार भाडा निर्धारणमा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पार्टपुर्जा, टायर, लुब्रिकेन्टलगायत १३ सामग्रीमा भएको मूल्य परिवर्तनको ६५ प्रतिशत योगदान रहने व्यवस्था छ।
त्यस्तै, इन्धनमा १५ प्रतिशतको मूल्य घटबढ भएमा स्वचालित रूपमा भाडादर समायोजन हुने प्रावधान कार्यविधिमा उल्लेख छ। चैत २५ गतेपछि डिजेलमा करिब ३० प्रतिशत मूल्य वृद्धि भएको जनाइएको छ।

