काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारले निजी सञ्चारमाध्यममा दिँदै आएको सरकारी विज्ञापन रोक्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै यो निर्णय प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।
विज्ञप्तिमा निजी सञ्चारमाध्यम लोकतन्त्रको महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै यस्ता माध्यमलाई कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताइएको छ। यादवले सरकारी विज्ञापनबाट सञ्चारमाध्यमलाई वञ्चित गर्नु स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाएका छन्।
उनका अनुसार, “सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु भनेको स्वतन्त्र पत्रकारितालाई नियन्त्रणमा राख्ने प्रयास हो, जुन लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ।” उनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन्।
जसपा नेपालले आर्थिक संकट भोगिरहेका निजी सञ्चारमाध्यममा यस्तो निर्णयले थप संकट सिर्जना हुने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ कि यसले सञ्चारमाध्यम बन्द हुने अवस्था आउन सक्ने र श्रमजीवी पत्रकारहरूको रोजीरोटीमा समेत प्रत्यक्ष असर पर्नेछ।
पार्टीले सरकारलाई सञ्चारमैत्री नीति अवलम्बन गर्न र प्रेस स्वतन्त्रताको संरक्षण गर्न जोडदार मागसमेत गरेको छ।

