काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गराउन माइकिङ गर्दै अल्टिमेटम दिएको छ। बिहीबार साँझ महानगरको टोलीले थापाथली, सिनामंगल लगायतका क्षेत्रमा पुगेर शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएको हो। तोकिएको समयभित्र बस्ती खाली नगरे शनिबारदेखि डोजर प्रयोग गरेर संरचना हटाइने चेतावनी समेत दिइएको छ।
काठमाडौं महानगरपालिका ले माइकिङमार्फत घर–टहरा खाली गरी आफ्ना सरसामान, लत्ताकपडा तथा पशुपन्छी सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। साथै अपांगता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सुकुम्बासीलाई सुरक्षित स्थानमा सर्न सूचना दिइएको छ र शनिबारदेखि बस्ती खाली गरिनेछ।
महानगरले वैशाख ११ गते साँझ ७ बजेसम्म घर–टहरा खाली गर्न र वैशाख १२ गते बिहान ६ बजेदेखि अतिक्रमित संरचना हटाउने जनाएको छ। यदि कसैले अवरोध गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
साथै सम्बन्धित निकायमार्फत वास्तविक भूमिहीन सुकुम्बासीको लगत संकलन तथा स्क्रिनिङ गरी १० देखि १५ दिनभित्र उचित
बसोबासको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइने पनि जानकारी दिइएको छ। यसअघि बालेन्द्र शाह ले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुम्बासी बस्ती हटाउने निर्देशन दिएका थिए। प्रशासनले पहिलो चरणमा काठमाडौं उपत्यकाका चार स्थानका बस्ती हटाउने तयारी गरेको जनाएको छ।

