काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेल ले संविधान तथा कानुनविद्हरूसँग परामर्श गर्ने भएका छन्। राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे शीतल निवासमा वरिष्ठ कानुन व्यवसायीहरूसँग छलफलका लागि बोलाएका हुन्। उक्त छलफल शीतल निवासमा आयोजना गरिनेछ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार छलफलमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी, शेरबहादुर केसी र ललित बस्नेतलाई आमन्त्रण गरिएको छ।
सरकारले हालै सार्वजनिक निकायमा हुने नियुक्ति प्रक्रिया पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ वटा अध्यादेश सिफारिस गरेको छ। यस विषयमा राष्ट्रपति कार्यालयले संवैधानिक पक्ष र कानुनी जटिलताबारे थप स्पष्टता लिन परामर्श प्रक्रिया अघि बढाएको बताइएको छ।

