काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश प्रमाणीकरण गरिएको हो। यसअघि आजै राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ समेत जारी गरिसकेका थिए।
सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म दुई वटा मात्र जारी भएका छन् भने बाँकी चार वटा अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनका लागि राखिएको छ।
जारी हुन बाँकी रहेका अध्यादेशहरूमा सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश, संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी संशोधन अध्यादेश र केही नेपाल ऐन संशोधन अध्यादेश रहेका छन्।
सरकारले यी अध्यादेशहरू सार्वजनिक निकायमा पारदर्शिता, दलीय राजनीतीकरण अन्त्य, नियुक्ति प्रक्रिया सुधार, सेवा प्रवाह प्रभावकारी बनाउने तथा विभिन्न कानुनी अवरोध हटाउने उद्देश्यसहित ल्याएको जनाएको छ।
राष्ट्रपति कार्यालयले बाँकी अध्यादेशहरूबारे अध्ययन भइरहेको र आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

