काठमाडौं । सरकारले सीमा विवादको विषयमा नेपालको अडान स्पष्ट रहेको बताएको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विवादित क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।
हालै लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारतको निर्णयपछि नेपालले आपत्ति जनाउँदै आइतबार परराष्ट्र मन्त्रालय मार्फत भारत र चीनलाई कूटनीतिक नोट पठाएको थियो। उक्त नोटमा नेपालको सहमतिबिना विवादित भू-भागमा कुनै गतिविधि नगर्न आग्रह गरिएको छ।
भारतले भने उक्त मार्ग पुरानै विषय भएको दाबी गर्दै प्रतिक्रिया जनाएको छ। भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा सन् २०२६ को जुनदेखि अगस्टसम्म सञ्चालन हुने बताइएको छ।
यस्तै, मन्त्रिपरिषद् बैठकमा मन्त्रालय गाभ्ने वा फुटाउने विषयमा कुनै निर्णय नभएको पनि मन्त्री पोखरेलले स्पष्ट पारे। मन्त्रालयको संख्या घटाउने विषयमा प्राविधिक तथा कानुनी छलफल भइरहे पनि तत्काल कुनै ठोस निर्णय नभएको उनले जानकारी दिए।
सरकारले सीमा विवादजस्ता संवेदनशील विषयलाई संवाद र कूटनीतिक पहलमार्फत समाधान गर्ने नीति लिएको दोहोर्याएको छ।

