काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको उक्त अध्यादेश सरकारको पुनः सिफारिसपछि स्वीकृत गरिएको हो। सरकारले केही परिमार्जनबिना पुरानै व्यवस्था अनुसार अध्यादेश पुनः सिफारिस गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अध्यादेशमा कुनै ठूलो परिवर्तन नगरी जस्ताको तस्तै पुनः पठाइएको थियो। त्यसपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपतिले यसअघि बैठक तथा सिफारिससम्बन्धी गणपुरक प्रावधान लगायतका विषयमा आपत्ति जनाउँदै अध्यादेश फिर्ता गरेका थिए। तर सरकारको पुनः सिफारिसपछि प्रक्रिया अघि बढाइएको हो।
अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिमै निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रावधानलाई लिएर बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्थालाई कमजोर पार्ने भन्दै राष्ट्रपतिको चासो रहेको बताइएको छ।

