काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। प्रधानमन्त्री वालेन शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनका लागि उनी वैशाखको अन्तिम साता नेपाल आउने तयारीमा रहेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र लिएर आउने भनिएका मिश्रीको भ्रमण प्रधानमन्त्री शाहसँग भेटवार्ता तय नभएकै कारण स्थगित भएको भारतीय स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाहले विदेश सचिवसँग औपचारिक भेटका लागि सहमति नजनाएपछि भ्रमण कार्यक्रम अन्योलमा परेको हो।
यसअघि पनि विभिन्न विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहसँग भेट गर्ने प्रयास गरे पनि सफल हुन नसकेको बताइएको छ। हालै नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपूरले समेत प्रधानमन्त्रीसँग भेट्न पटक–पटक प्रयास गरेका थिए। त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि भेटको प्रयास गरे पनि समय मिल्न नसकेको स्रोतको दाबी छ।
कूटनीतिक विश्लेषकहरूका अनुसार उच्चस्तरीय भेटघाटमा देखिएको यो ढिलाइले नेपाल–विदेश सम्बन्धमा समन्वय र समय व्यवस्थापनको चुनौती उजागर गरेको छ। साथै, आगामी दिनमा कूटनीतिक संवादलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ।
भ्रमण स्थगित भए पनि दुई देशबीचको सम्बन्ध र संवाद च्यानल निरन्तर रहने अपेक्षा गरिएको छ।

