काठमाडौं । संघीय संसद को बजेट अधिवेशन भोलि सोमबारदेखि औपचारिक रूपमा प्रारम्भ हुने भएको छ । अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तय गरिएको छ ।
रामचन्द्र पौडेल ले भोलि अपराह्न ४:०० बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति द्वारा संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा सांसदहरूलाई अपराह्न ३:४५ बजेभित्र उपस्थित हुन संसद् सचिवालयले अनुरोध गरेको छ ।
त्यसअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन् । ती बैठकमा अधिवेशन आह्वानसम्बन्धी पत्रको जानकारी, मन्त्रिपरिषद् हेरफेरबारे सूचनाको अवगत, तथा विभिन्न अध्यादेशहरू पेस गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश दुवै सदनमा पेस गरिनेछ ।

