काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा आगलागी भएको छ। टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टीके–७२६ कल साइनको विमान बिहान करिब पौने ७ बजे अवतरण गर्ने क्रममा आगो देखिएको हो।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार आगलागी भएको जानकारी प्राप्त हुनासाथ दमकल परिचालन गरी आगो तत्काल नियन्त्रणमा लिइएको थियो। विमानमा रहेका २७३ यात्रु र ११ जना क्रु मेम्बरलाई सकुशल उद्धार गरिएको जनाइएको छ।
घटनापछि विमान मुख्य धावनमार्गमै रोकिएकाले केही समय अन्तर्राष्ट्रिय उडान तथा अवतरण सेवा प्रभावित बनेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानलाई पछि ट्याक्सीवेमा सारेर यात्रुको उद्धार गरिएको हो।
हाल विमानको प्राविधिक परीक्षण भइरहेको छ भने आगलागीको वास्तविक कारणबारे अध्ययन सुरु गरिएको सम्बन्धित निकायले जनाएको छ। घटनाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरूको नियमित तालिकामा समेत असर परेको बताइएको छ।

