काठमाडौं । काठमाडौंमा १२ कक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी साइबर ब्यूरो ले गोप्य सूचनाका आधारमा मंगलबार काठमाडौंबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–८ स्थायी घर भई हाल काठमाडौंको सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङ नीलकण्ठ–३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन्।
ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरी का अनुसार उनीहरूले ‘क्लास १२ म्यानेजमेन्ट अनली’ नामक ह्वाट्सएप ग्रुप तथा फेसबुक मेसेन्जरमार्फत उत्तरसहितको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको आरोप छ।
राष्ट्रिय परीक्षा बोर्ड ले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धानका लागि पत्र पठाएपछि साइबर ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएपछि चाबहिलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा चलाइएको छ। प्रहरीले परीक्षाको गोपनीयता भङ्ग गर्ने अन्य संलग्न व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ।

