काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको स्वामित्वमा रहेका जग्गाजमिनमा भएको अतिक्रमण हटाउन देशभरका अस्पताल तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार पत्राचार गर्दै अस्पतालका जग्गा तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तत्काल आवश्यक कदम चाल्न तीन बुँदे निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार पहिलो चरणमा अस्पतालको जग्गाको साँध–सीमाना एकीन गर्न तथा त्यहाँ रहेका अनाधिकृत संरचनाको विस्तृत विवरण मन्त्रालयमा पठाउन भनिएको छ। त्यसैगरी अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति वा संस्थालाई समयसीमा तोकेर संरचना हटाउन लगाउन मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले अतिक्रमणमुक्त गरिएको वा खाली रहेको जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल निर्माण गर्न तथा आवश्यक सुरक्षात्मक उपाय अपनाउन पनि अस्पताल तथा प्रतिष्ठानलाई आग्रह गरेको छ।

