काठमाडौं । नेपाल–चीन सीमास्थित कोरलानाका हुँदै अवैध रूपमा भित्र्याइँदै गरेको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) भन्सार र सुरक्षा निकायले बरामद गरेको छ।
मुस्ताङ भन्सार कार्यालय का अनुसार लोमान्थाङ गाउँपालिका–१ छोसेर न्हेचुङ स्थित कोरलानाकामा शनिबार दुई वटा मालवाहक कन्टेनरबाट ५९२ कार्टुन भेप बरामद गरिएको हो।
चिनियाँ भन्सारबाट लोड गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरका कन्टेनरहरू सार्वजनिक बिदाको दिन शंकास्पद रूपमा रोकिएको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ।
भन्सार कार्यालयका अनुसार एक कार्टुनमा करिब २२० वटा भेप रहेको आधारमा दुवै कन्टेनरमा एक लाख २० हजारभन्दा बढी विद्युतीय चुरोट रहेको अनुमान गरिएको छ।
भन्सार र सुरक्षाकर्मीले गोप्य सूचनाको आधारमा संयुक्त रूपमा निगरानी बढाएपछि उक्त सामग्री फेला पारिएको हो। घटनामा कन्टेनर चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसअघि पनि कोरलानाकाबाट पटक–पटक ठूलो परिमाणमा भेप बरामद हुँदै आएको र अवैध तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायले जनाएको छ।

