काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन बमोजिम दर्ता हुन आएका सबै रिट निवेदन तत्काल दर्ता गर्न आदेश दिएकी छन्।
यसअघि कानुन व्यवसायीहरूले दर्ता गर्न ल्याएका रिट दरपीठ गरिएको र दरपीठविरुद्ध पुनः रिट दर्ता गर्न खोज्दा पनि अस्वीकार भएको भन्दै गुनासो गरेका थिए।
उक्त गुनासोपछि कामु प्रधानन्यायाधीश मल्लले आजै दिउँसो १ बजेसम्म सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्धका निवेदन दर्ता गरी भोलि जेठ ५ गते मंगलबारको पेशीमा चढाउन निर्देशन दिएकी छन्।
कानुन व्यवसायीहरूले संवैधानिक परिषद्को सिफारिसविरुद्ध रिट दायर गर्न खोज्दा अदालत प्रशासनले दरपीठ गरेको आरोप लगाएका थिए। दरपीठविरुद्ध पनि दर्ता प्रयास असफल भएपछि उनीहरूले आपत्ति जनाएका थिए।
आदेशमा मल्लले कानुनअनुसार दर्ता हुन आएका निवेदन रोक्नु न्यायमा पहुँचमा अवरोध गर्ने र अदालतप्रतिको जनआस्थामा असर पार्ने कार्य हुने उल्लेख गरेकी छन्।
उनले मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा केही निर्देशनका कारण दर्ता रोकिएको भन्ने जानकारी आएको उल्लेख गर्दै नेपालको संविधान, न्याय प्रशासन ऐन र सर्वोच्च अदालत नियमावलीअनुसार आवश्यक निर्देशन दिनुपरेको स्पष्ट पारेकी छन्।

