काठमाडौं । नेपाल प्रहरीले आगामी तीन वर्षका लागि तयार गरिएको रणनीतिक योजना २०८३–०८५ सार्वजनिक गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा योजना सार्वजनिक गरिएको हो।
सो अवसरमा आईजीपी कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रहरी सेवामा प्रविधिको प्रयोगमार्फत पारदर्शिता र पहुँच विस्तार गर्ने उद्देश्य रहेको बताए। साथै प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीहरी केसीद्वारा लिखित ‘मिसन’ पुस्तक पनि विमोचन गरिएको थियो।
नयाँ रणनीतिक योजनाले नागरिक केन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकतालाई मुख्य आधार बनाएको छ। “नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण” भन्ने रणनीतिक विषयसहित योजना अघि सारिएको हो।
योजनाअनुसार नेपाल प्रहरीले सात वटा रणनीतिक क्षेत्र, ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम कार्यान्वयन गर्नेछ। यसमार्फत नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्य सुदृढीकरण, अपराध रोकथाममा प्रविधिको प्रयोग, मानवस्रोत विकास, अनुसन्धान क्षमताको विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
त्यसैगरी अपराध रोकथाम, अनुसन्धान, विपद् व्यवस्थापन, सूचना प्रविधि प्रयोग, भौतिक पूर्वाधार विकास र प्रशासनिक सुधारलाई पनि प्राथमिकतामा राखिएको छ। योजना कार्यान्वयनपछि प्रहरी सेवा थप आधुनिक, पारदर्शी र परिणाममुखी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै आईजीपी कार्कीले बदलिँदो अपराध संरचना, विशेषगरी संगठित र आर्थिक अपराध नियन्त्रणका लागि यो रणनीतिक योजना महत्वपूर्ण हुने बताए। उनले प्रहरी सेवामा प्रविधि, दक्ष जनशक्ति र सरोकारवालाको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।
नागरिक गुनासो व्यवस्थापन अनलाइन प्रणालीले सेवा प्रवाहमा सहजता ल्याउने र प्रहरी–नागरिक सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रहरी अधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

