काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यसहित ‘मोफा मित्र’ एप सार्वजनिक गर्ने तयारी गरेको छ। मन्त्रालयले आगामी जेठ २२ गते उक्त एप औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको हो।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई समेत थप विस्तार गरिएको जानकारी दिए।
मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध पनि हटेको जनाएको छ। भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण निर्यातमा समस्या उत्पन्न भएको भए पनि कूटनीतिक पहलपछि भारतीय पक्षले निर्देशिका संशोधन गरेको र त्यसपछि नेपाली चियाको निकासी सहज बनेको प्रवक्ता क्षेत्रीको भनाइ छ। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयबीचको समन्वयले समस्या समाधानमा भूमिका खेलेको मन्त्रालयले जनाएको छ।
यस्तै विभिन्न देशमा अलपत्र परेका तथा समस्यामा रहेका ६ सय ८७ नेपाली नागरिकको उद्धार गरिएको मन्त्रालयले जानकारी दिएको छ। कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको र पछिल्लो दुई सातामात्रै थप ७१ जनालाई स्वदेश फर्काइएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीका लागि कानुनी सहायता उपलब्ध गराउने पहल भइरहेको छ भने म्यानमारमा रहेका नेपालीहरूको कैद मिनाहासम्बन्धी कूटनीतिक प्रयास पनि जारी छ।
यसैबीच राहदानी विभागले नयाँ राहदानी प्रणाली कार्यान्वयनको अन्तिम तयारी भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू गरिनेछ। संक्रमणकालीन अवस्थालाई सहज बनाउन पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन आग्रह गरिएको छ।

