काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले दुवै देशबीच सीमा विषय अध्ययन गरेर समाधान गर्नुपर्ने बताएका छन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेकसहित सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकले सरकारको उपस्थिति कसरी महसुस गर्ने भन्ने प्रश्न उठाएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री शाहले सीमा विवादबारे नयाँ दाबी प्रस्तुत गरे।
प्रधानमन्त्री शाहले नेपालले भारतको भूभाग मिचेको हुन सक्ने सम्भावना पनि अध्ययनको विषय हुनुपर्ने बताएका छन्। उनले दुवै देशले एकअर्काको सीमा अतिक्रमणबारे निष्पक्ष रूपमा अध्ययन गर्नुपर्ने धारणा राखे।
“लिपुलेक र लिम्पियाधुरा विषयमा मैले पहिले पनि भनेको छु,” प्रधानमन्त्री शाहले भने, “मैले प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ कि भारतले मात्रै होइन, नेपालले पनि भारतको केही भूभाग मिचेको हुन सक्छ। यो कुरा अध्ययन गरेर दुवै देशले मिलेर समाधान गर्नुपर्छ।”
उनका अनुसार सीमा विवादलाई टकरावको होइन, मित्रतापूर्ण संवाद र संयुक्त अध्ययनमार्फत समाधान गर्नुपर्ने आवश्यकता छ।
प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि सीमा मुद्दामा नयाँ बहस सुरु भएको छ।

