तेहरान/वाशिङ्टन । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न ऐतिहासिक सहमति भएको घोषणा गरिएको छ। वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका शहबाज सरिफ ले दुवै देशबीच शान्ति सम्झौता भएको जानकारी दिएका छन्।
डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत इरानसँगको सम्झौता सम्पन्न भएको घोषणा गरेका छन्। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादी ले समेत समझदारीको पुष्टि गरेका छन्।
सम्झौताअनुसार विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः सञ्चालनमा ल्याइने भएको छ। यससँगै तेल तथा ऊर्जा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
पाकिस्तान र कतार को मध्यस्थतामा भएको लामो वार्तापछि सहमति जुटेको बताइएको छ। इरानका उपविदेशमन्त्री घरिबाबादीका अनुसार तेहरानमा झण्डै १५ घण्टा लामो वार्तापछि समझदारीपत्रको मस्यौदामा सहमति भएको हो। आगामी ६० दिनसम्म थप वार्ता जारी रहने र विशेषगरी प्रतिबन्ध हटाउने तथा आणविक कार्यक्रमसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
यसैबीच बेलायत, फ्रान्स, जर्मनी र इटाली ले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कूटनीतिक सफलताको स्वागत गरेका छन्।
पाकिस्तानी प्रधानमन्त्री सरिफका अनुसार सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्ड मा औपचारिक हस्ताक्षर गरिनेछ। यद्यपि सम्झौताका सबै विवरण सार्वजनिक भइसकेका छैनन् र केही महत्वपूर्ण विषयमा थप वार्ता आवश्यक रहेको बताइएको छ।

