बेइजिङ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ परराष्ट्रमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे छलफल गर्दै पूर्वाधार, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि, पर्यटन तथा जनस्तरका सम्बन्ध विस्तारमा सहकार्य बढाउने सहमति भएको छ।
नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको छ। प्रत्युत्तरमा चीनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो अटल समर्थन पुनः व्यक्त गरेको छ।
दुवै पक्षले विगतमा भएका सहमति तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिँदै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा समेत सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
भेटवार्तापछि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले मन्त्री खनालको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

