काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर संगठन विस्तार तथा अधिवेशन अभियानलाई तीव्रता दिएको जनाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वटा वडामा, ६०९ वटा पालिकामा तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।
रास्वपाका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ।
यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ। मधेस प्रदेशको अधिवेशन स्थगित अवस्थामा रहेको भने कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन जारी रहेको छ।
रास्वपाले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवन मा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। पार्टीले महाधिवेशनलाई संगठन सुदृढीकरण र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

