काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले यस वर्षको नतिजा परीक्षाको ३५ दिनमै सार्वजनिक गरेको जनाएको छ। यसअघि एसईईको नतिजा २९ दिनमै प्रकाशित गरिएको थियो।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए।
तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। सहभागीमध्ये ५ हजार ३३९ विद्यालयका विद्यार्थी समावेश थिए। लिङ्गगत विवरणअनुसार १ लाख ७२ हजार ०१२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र २९० जना अन्य परीक्षार्थी रहेका थिए।
बोर्डले नतिजा हेर्नका लागि आधिकारिक वेबसाइट result.neb.gov.np प्रयोग गर्न सकिने जनाएको छ। साथै एसएमएस तथा अन्य डिजिटल माध्यमबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।
यस वर्षको नतिजा विगत वर्षको तुलनामा केही सुधार भएको देखिएको छ। बोर्डले परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षण प्रक्रिया समयमै सम्पन्न भएकाले ३५ दिनभित्र नतिजा प्रकाशन गर्न सफल भएको जनाएको छ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले समयमै नतिजा प्रकाशित हुनु सकारात्मक संकेत भएको बताएका छन्। अब उत्तीर्ण विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन्।

