चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन्।
भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गर्दै कुनै पनि व्यक्तिप्रति प्रतिशोध नराख्ने बताएका छन्।
उनले राजनीतिक दलहरूबीच विद्यमान वैमनस्यता अन्त्य गरी सहकार्य र सहअस्तित्वका आधारमा देश तथा जनताको हितमा काम गर्ने उल्लेख गरेका छन्।
सभापति लामिछानेले पार्टीभित्र गुट–उपगुटको अभ्यासलाई स्थान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। महाधिवेशनमार्फत संगठनात्मक एकताको सन्देश दिइने उनले बताएका छन्।
उनले पुराना राजनीतिक दलहरूको अनुभवबाट पाठ सिक्दै गुटरहित रूपमा अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने बताएका छन्।
त्यसैगरी, उनले नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र देखिएका समस्या समाधान नभए त्यसले राष्ट्रिय राजनीतिमा असर पार्ने चेतावनी पनि दिएका छन्।
सभापति लामिछानेले पूर्वसहमति अनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताएका छन्।

