काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ। पार्टीले निर्वाचन प्रक्रियालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन विद्युतीय मतदान प्रणाली अपनाउन लागेको हो।
महाधिवेशनअन्तर्गत सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य र पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइँदै छ।
निर्वाचनका लागि रामलक्ष्मण इनोभेसनद्वारा विकसित विद्युतीय मतदान मेसिन प्रयोग गरिने जनाइएको छ। कम्पनीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त भएपछि करिब ६ घण्टाभित्र मेसिनमा आवश्यक विवरण प्रविष्ट गरी मतदानका लागि तयार पारिनेछ।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवारी दर्ता भएका छन्। उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएपछि बुधबार अपराह्नदेखि पहिलो चरणको मतदान सुरु हुने सम्भावना रहेको छ।
पहिलो चरणमा केन्द्रीय सदस्यहरूको चयन गरिनेछ भने त्यसपछि पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अघि बढाइने पार्टी स्रोतले जनाएको छ।
रास्वपाको महाधिवेशनमा ठूलो संख्यामा उम्मेदवारको प्रतिस्पर्धा रहेकाले विद्युतीय मतदान प्रणालीले मतगणना छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।

