काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका नाममा एमालेले आफ्नो नीतिमाथि छलफल वा सम्झौता नगर्ने स्पष्ट गरेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमालेले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा सही नीति अवलम्बन गरिरहेको दाबी गरे।
उनले एमालेका नीतिहरू स्पष्ट र सही भएकाले पार्टी एकताका लागि ती नीतिमाथि पुनः छलफल गर्ने पक्षमा आफू नरहेको बताए। “हाम्रा नीतिहरू सही छन्, त्यसैले एकताका लागि नीतिबारे छलफल गर्ने पक्षमा छैनौँ,” उनले भने।
ओलीले वर्तमान राजनीतिक परिस्थितिमा समाजवाद निर्माणभन्दा प्रतिगमनलाई पराजित गर्नु प्रमुख आवश्यकता रहेको पनि उल्लेख गरे। अहिलेको मुख्य चुनौती प्रतिगमन भएकाले सबै लोकतान्त्रिक वामपन्थी शक्तिहरू कार्यगत एकतामार्फत त्यसको सामना गर्नुपर्ने उनको भनाइ थियो।
उनले लोकतान्त्रिक मूल्य र व्यवस्थाको संरक्षणका लागि वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

