काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग प्रभावित भएका छन्। सम्बन्धित निकायले शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा रहेको तथा केही सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। इलामको रोङ गाउँपालिका–३ राउतबारीस्थित मेची राजमार्ग तथा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ सिम्ले क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी सञ्चालन भइरहेको छ।
काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–नेपालथोक–धुलिखेल सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालन रोकिएको छ। यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुंगा–चिसापानी सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ५ अन्तर्गत पर्ने कुलेखानी–फाखेल–हुमाने–काठमाडौं सडकखण्डमा मर्मत कार्य भइरहेकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ पानीधारा क्षेत्रमा पर्ने मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोका कारण प्रभावित भए पनि सवारी आवागमन भने सञ्चालनमै रहेको छ।
यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ डुंगेडाँडास्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ भने पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रमा रहेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा छ।
उता, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ रिम्जीखोला क्षेत्रमा लगातारको वर्षापछि आएको पहिरोका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक प्रभावित क्षेत्रतर्फ यात्रा गर्ने चालक तथा यात्रुहरूलाई मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

