काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा निर्माण उद्योगको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको प्रमुख आधार भएको उल्लेख गरे।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सम्बन्धित सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
छलफलका क्रममा निर्माण व्यवसायीहरूले भुक्तानीमा भइरहेको ढिलाइ, आयोजनाको म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन तथा बैंकिङ र लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
निर्माण व्यवसायीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।
त्यसैगरी प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि छलफलमा सहभागी भएका थिए। प्रधानमन्त्रीले निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकार आवश्यक सहकार्य र नीतिगत सुधार गर्न सकारात्मक रहेको विश्वास दिलाएका छन्।

