लमजुङ । दोर्दी गाउँपालिकाको आयोजनामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुभम् इन्टरनेशनल हस्पिटलको प्राविधिक सहयोग तथा NAMASTE MUTU FOUNDATION र MANJOJ NEPAL को आर्थिक सहयोगमा आयोजित शिविरमा स्त्रीरोग, नाक–कान–घाँटी (ईएनटी) तथा जनरल स्वास्थ्य सेवा प्रदान गरिएको हो।
दोर्दी अस्पताल, जितौरेमा आयोजित शिविर गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडाध्यक्षहरू, प्रशासकीय अधिकृत ससबहादुर पुन, कार्यक्रम तथा रोजगार संयोजक धर्मराज गुरुङ, नमस्ते मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङ, फ्रान्सका विद्यार्थी तथा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको थियो।
शिविरसँगै दोर्दी अस्पतालमा भिजन सेन्टर (आँखा जाँच केन्द्र) को समेत स्थापना गरिएको छ। केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री फ्रान्सका विद्यार्थीहरूको करिब ३० लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्थानीय नागरिकलाई विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। साथै नवस्थापित आँखा जाँच केन्द्रले दोर्दीसहित आसपासका बासिन्दालाई नियमित रूपमा नेत्र स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।

