काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले अन्तिम चारमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता बनाएको थियो। कप्तान लियोनेल मेस्सीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
स्विट्जरल्यान्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ६७औँ मिनेटमा आर. रोड्रिगेजको गोलबाट खेल बराबरीमा ल्यायो। त्यसपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।
खेलको ७२औँ मिनेटमा स्विट्जरल्यान्डका ब्रिल इम्बोलाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो, जसले खेलको समीकरण अर्जेन्टिनातर्फ मोडियो।
निर्धारित समयमा विजेता ननिस्किएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दबाब बढायो। ११२औँ मिनेटमा जुलियन अल्भारेजले शानदार गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। त्यसपछि अतिरिक्त समयको इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।
यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधितर्फको यात्रा कायम राखेको छ। सेमिफाइनलमा उसको भेट इंग्ल्यान्डसँग हुनेछ। इंग्ल्यान्डले यसअघि नर्वेलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।

