काठमाडौं । राजधानी काठमाडौंमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिकाका गणेश नेपालीको निधनपछि उत्पन्न विवाद समाधानका लागि सरकार र मृतकका परिवारबीच ९ बुँदे सहमति भएको छ।
आइतबार भएको वार्तापछि दुवै पक्षबीच भएको सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गर्न सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ। उक्त समितिले पेश गर्ने प्रतिवेदनका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइने सहमति भएको हो।
सहमतिअनुसार मृतक गणेश नेपालीकी श्रीमतीलाई योग्यता र प्रचलित कानुनअनुसार उपयुक्त रोजगारीको व्यवस्था गरिनेछ। त्यसैगरी उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने प्रतिबद्धता पनि गरिएको छ।
सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। साथै, पीडित परिवारलाई आवश्यक राहत, क्षतिपूर्ति तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पनि सहमतिमा समेटिएको छ।
यसअघि वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा गणेश नेपालीको निधन भएपछि उनको परिवारले सहिद घोषणा, निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा परिवारको दीर्घकालीन व्यवस्थापनलगायत माग राख्दै शव बुझ्न अस्वीकार गरेको थियो। त्यसपछि सरकार र परिवारबीच पटक–पटक वार्ता भएको थियो।
लामो छलफलपछि आइतबार ९ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै शव बुझ्ने वातावरण बनेको छ। सरकारले सहमतिका बुँदाहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ भने परिवारले पनि सहमतिअनुसार आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाएको छ।
सरकार र परिवारबीच भएको यो सहमतिसँगै केही दिनदेखि जारी विवाद समाधानतर्फ उन्मुख भएको छ। अब छानबिन समितिको प्रतिवेदनका आधारमा आगामी कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जनाइएको छ।


